१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा


468
Shares

काठमाडौं । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।

गतवर्ष २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

प्राकृतिक प्रकोप, बेमौसमी वर्षाका साथै भर्खरै सम्पन्न स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको उहाँको भनाइ छ । जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् ।

पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिले कोइला ढुवानी खर्च बढ्नुका साथै सोचेअनुसार इँटाको माग नहुँदा इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ छ ।

व्यवसायीहरूले कोइला आयातमा नेपाल सरकारले सहजीकरण गर्नुका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिएका छन् । रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौं, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ ।