१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मलामीबाट फर्केको ट्याक्टर दुघर्टनामा मृत्यु हुनेको संख्या तीन पुग्यो


1.209k
Shares

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१० मा मलामी लिएर फर्कँदै गरेको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मृत्यु हुनेमा चैनपुर नगरपालीका १० का ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

गम्भीर घाइते भएका अन्य ७ जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

घाइते अन्य ३२ जनाको खाँदबारी अस्पताल र मनकामना अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो मलामी लिएर फर्कंदै गरेको को २ त ३९६१ नम्बरको ट्याक्टर लेगुवा–खाँदवारी सडकखण्डको दुमकटामा दुर्घटना भएकोे थियो ।

दुर्घटनामा गम्भीर घाइते चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्कीको मनकामना अस्पतालमा उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको थियो ।

दुर्घटना, ट्याक्टरको लोडपिन अचानक भाँचिएपछि ट्याक्टरको डाली पल्टिएर सडकबाट २० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक चैनपुर नगरपालिका–१० का मोहनकुमार तामाङलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।