
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
राजधानी कोलम्बोमा रहेको राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि उनी निवासबाट भागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
देशको आर्थिक संकटको विषयलाई लिएर महिनौंदेखि भएको विरोध प्रदर्शनपछि आन्दोलनकारीले राजापाक्षेका राजीनामा माग्दै आएका छन् । शनिबार हुने प्रदर्शनलाई मध्यनजर गर्दै गएराती देखि नै श्रीलंकामा कर्फ्यु आदेश जारी गरिएको थियो ।

त्यसका बाबजुत पनि आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवास घेरेका हुन् । आक्रोशित भीडलाई राष्ट्रपति निवासमा प्रवेश गर्नबाट रोक्न प्रहरीले हवाइ फायर गरेको थियो । तर, भीडलाई नियन्त्रणमा लिन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
राष्ट्रपति राजापाक्षेलाई भने पहिले नै सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटबारे छलफल गर्न श्रीलंकाका राजनीतिक दलका नेताको आपतकालीन बैठक बोलाउनुभएको छ ।
साथै उहाँले सभामुखलाई संसद बोलाउन पनि आग्रह गर्नुभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्