
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने विषयमा छलफल भइरहेको छ ।
सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी बैठक बोलाउनुभएको हो ।
कांग्रेसले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा गर्न सोमबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ ।
यसैबीच, कांग्रेस नेता डा. शेखर कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुले आइतबार छुट्टै भेला गरेका छन् ।
सभापति देउवाले पदाधिकारी बैठक डाकेकै बेला कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरु छुट्टै भेलामा जुटेका हुन् । भेलामा सोमबार हुने केन्द्रीय समिति बैठकमा के–कस्ता एजेण्डा उठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि सभापति देउवाले विधान अनुसार गर्नुपर्ने काम नगरेको तथा सरकार सञ्चालन पनि प्रभावकारी नभएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्