१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुग्ध उत्पादक किसानलाई अनुदान


130
Shares

काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।

कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर १ रुपैंयाँ २५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ ।

चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो । यहाँका चार सहकारीमा संकलन भएको कूल २२ लाख १५ हजार ५ सय ३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो ।

दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दूधमा दिने अनुदान थप गरेको छ ।

हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर रु. २५ पैसा थप गरी १ रुपैयाँ ५० पैसा पुर्‍याउन लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।