
सोलुखुम्बु । जिल्लामा एक युवकको हत्या आरोपमा श्रीमती र एक छिमेकी पुरुष पक्राउ परेका छन् ।
सोलुदूधकुण्ड नगरपालिका–५ जैदुका ५९ वर्षीय सुब्बा कामीकाे हत्या आरोपमा श्रीमती ५५ वर्षीया बुदामाया विक र छिमेकी ५३ वर्षीय ङिमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
विक दम्पतीले राती मादक पदार्थ सेवन गरेर घरायसी विवाद गरेको र विहान सुतेकै ठाउँमा सुब्बा कामीलाई मृत भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरीले मृतकको श्रीमती बुदामायालाई घरबाटै पक्राउ गरेको हो ।
कामीलाई टाउको, निधार र बाँया खुट्टामा चोट लागेको अवस्थामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । हत्या गर्न चक्कु र चिर्पछ दाउरा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ ।
घटनालगत्तै फरार रहेका छिमेकी ङिमा तामाङलाई लुकिछिपी बसेको अवस्थामा फाप्लुबाट पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्