
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधि भित्र्याएर निर्यातको आधार बनाउन नसके मुलुकले उच्च व्यापार घाटा व्यर्होर्नुपर्ने बताउनुभएको छ ।
सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था’ सम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले सेवा, रेमिट्यान्स, उच्च कर्जा प्रवाह, प्रत्यक्ष विदेशी लगानीलाई व्यवस्थित गर्न नसके व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै जाने बताउनुभयो ।
खतिवडाले अर्थतन्त्रका सूचकहरु चुनौतीपूर्ण रहेको अवस्थामा अब आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिको लक्ष्य राख्न खोजे व्यापार घाटाको समस्या कामय रहने बताउनुभयो । खतिवडाले अर्थतन्त्रमा समस्या भएपनि दक्षिण एशियामा तुलनात्मक रुपमा नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको दाबी पनि गर्नुभयो ।
यस्तै, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताउनुभयो । उहाँले विधि मिचेर ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताउनुभयो । पूर्व अर्थमन्त्री पौडेलले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्