१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुदूरपश्चिमकाे प्रदेशसभा बैठक स्थगित


26
Shares

काठमाडौं । सुदूरपश्चिमकाे प्रदेशसभा बैठक गणपूरक संख्या नपुगेपछि आज (मंगलबार) पनि स्थगित भएको छ ।

बजेटमाथि छलफल गर्न बोलाइएको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गर्नुभएको हो । प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयकाअनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा मंगलबारको बैठकमा १३ जना मात्र उपस्थित भएका थिए । बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन ।

सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन् । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने माग सत्तारूढ दलकै प्रदेशसभा सदस्यहरूले गरेका छन् । बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण अहिलेसम्म बैठक बस्न सकेको छैन ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दल सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो ।