७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कालानिमक धानको संरक्षणमा किसान जुटे


143
Shares

काठमाडौं । तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् ।

मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा अग्रसर भएका छन् ।

स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै किसानले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसानहरु बताउँछन् ।

लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ ।

शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गर्ने गरेका थिए । बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनता काठको हलो लिएर कालानिमक धान रोपाइँ गर्ने गर्दथे ।

आजकल यो धान भने दुईचार किलो भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाउने परिकारको रुपमा लिने गरिन्छ ।