
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले आगामी निर्वाचनमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएका छन् ।
सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई सुझाव दिएका हुन् ।
बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले अधिकांश सदस्यले गठबन्धन सफल भएको र निर्वाचनमा भएका कमी कमजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्ता दिनुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।
प्रवक्ता महतले बैठकमा पार्टीको समग्र संरचनालाई पूर्णता दिएर चलायमान बनाउने विषयमा पनि छलफल भएको र पार्टीको निश्चित फोरमबाहिर नजान नेताहरुलाई सचेत गराइएको जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् । मर्यादाक्रममा तीव्र असन्तुष्टि जनाएका सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका थिए ।
मंगलबारको बैठकमा मर्यादाक्रम सम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि प्रदेश सभापतिले आफूहरूको मर्यादाक्रम घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका अनुसार प्रदेश सभापतिको मर्यादाक्रम ११ नम्बरमा पु¥याइएको छ । केन्द्रीय सभापतिपछि आफूहरूको मर्यादाक्रम राखिनुपर्ने उनीहरूको माग छ ।
केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ५ बुँदे धारणा राख्नुभएको छ । वर्तमान पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिनुपर्ने पक्षमा रहनुभएका पौडेलले केन्द्रीय समितिको बैठकमा पनि आगामी निर्वाचनमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढी सिट सुरक्षित गर्न सक्नेसहितका ५ बुँदे धारणा राख्नुभएको हो ।
उहाँले मुलुकको अर्थतन्त्र बिग्रिएको भन्दै यसका लागि विज्ञहरूसँग परामर्श गरेर सकारात्मक पहलकदमी लिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । बैठकमा मंगलबारसम्म ४८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठक बुधबार दिउँसो २ बजे पुनः बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्