
वीरगञ्ज, बैशाख २४ । बीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना भाइरसका संक्रमित एकै परिवारका सदस्य भएको खुलेको छ ।
आइतबार वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाको परीक्षण गर्दा अरुमा पनि संक्रमण देखिएको हो ।
परीक्षणमा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।
वैशाख २१ गते महानगरपालिका ३ स्थित छपकैयामा बस्ने एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।
संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ ।
बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । जसमा २२ जना निको भएकोमा तीन जनामा फेरि संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्