
सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ ।
प्रदेश-१ को १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि अक्सिजनका लागि खाली सिलिन्डर बोकेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । उक्त प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिन्छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ ।
सोलुखुम्बमा अब अक्सिजनको अभावमा कुनैपनि विरामीले ज्यान गुमाउनु पर्दैन, जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयाे । विद्युत आपूर्ति बन्द हुँदा समेत स्वचालित रूपमा विरामीको बेडमानै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने उहाँले बताउनुभयाे । उहाँले कोरोनाको समयमा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन सिलिन्डरको जोहो गर्नका लागि खेपेको सास्तीलाई स्मरण समेत गर्नुभयाे । कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर विराटनगरसम्म गएकाे उहाँले बताउनुभयाे ।
कोभिड–१९ महामारी कम भएपनि दम तथा श्वासप्रश्वासका बिरामीलाई अक्सिजन आवश्यक पर्ने भएकाले आगामी दिनमा सहज हुने उहाँकाे भनाइ छ । पछिल्लो समय जिल्लामा नसर्ने रोगमध्येको एक श्वासप्रश्वासका बिरामी बढ्दै गइरहेका बेला अक्सिजन दम तथा श्वासप्रश्वासका बिरामी तथा नियमित अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पनि यसले सहयोग पुर्याउने उहाँकाे तर्क छ ।
अब घरमै उपचार गरिरेहेका दम तथा श्वासप्रश्वासका बिरामीहरुले पनि आफूसँग रहेको खाली सिलिन्डरमा अक्सिजन भरेर लैजान सक्ने उहाँले बताउनुभयाे । यहाँ उत्पादित अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूलाई पनि उपलब्ध गराउन सकिने जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्