१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ महिनामा महंगी दोब्बर, सरकारी हस्तक्षेप नहुँदा बजार अराजक


143
Shares

काठमाडौं । पछिल्लो ११ महिनाको महंगीको दर ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको अन्तिम समयमा महंगी एकदमै उच्च अर्थात ८ दशमलव ५६ प्रतिशत रहेको छ ।

बढ्दो महंगी र बेरोजगारीको कारण गरिखाने वर्गको अवस्था नाजुक बन्दै गएको छ । सरकारको हस्तक्षेप नहुँदा बजार अराजक बन्दै गएको आम उपभोक्ताको बुझाइ छ ।

विदेशमा इन्धनको अत्यधिक मूल्यवृद्धिको असर नेपालीको भान्सामा पुगेको छ । ढुवानी गर्दाको खर्च देखाएर गरिएको मूल्यवृद्धिले फलफूल, तरकारीसँगै खाद्यवस्तुको मूल्य आकाशिएको हो ।

फलफूल तथा तरकारीमा वर्षमै शतप्रतिशत मूल्यवृद्धि भएको छ । आलु, प्याजको मूल्य स्थिर रहँदा बाँकी हरियो वस्तुको मूल्य छोइनसक्नु छ ।

पेट्रोलियम पदार्थ, खाद्यान्नसँगै तरकारीको मूल्यमा भारी वृद्धि हुँदा गरिखाने वर्गको अवस्थाको बारेमा सुन्न सरकार तयार छैन ।

रुस–युक्रेन युद्धसँग सम्बन्धै नभएको र स्वदेशमै आत्मनिर्भर भएको वस्तुको समेत मूल्यवृद्धि भएको छ । यसको मुख्य जड कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ । हस्तक्षेप गर्नुपर्ने सरकारी निकाय निदाएर बसेको उहाँको आरोप छ ।

उपभोक्ताले दैनिक प्रयोग गर्ने ग्यास हाल १८ सयमाथि पुगेको छ । खानेतेलको मूल्य उस्तै अचाक्लि बढेको छ । गत वर्षको असारमा २ सय देखि २३० रुपैयाँमा पाउने खानेतेलको मूल्य अहिले ४ सय रुपैयाँसम्म पर्ने उपभोक्ता बताउँछन् ।

देशको उत्पादन प्रत्येक वर्ष घट्दै गएको र सरकारको गतिविधि हेर्दा महंगी बढ्दै जाने देखिएको छ । व्यापारीको हित हुने गरी राजनीतिज्ञले छुट दिएका कारण जीवनस्तर महंगिदै गएको छ । बजार भाउ नियन्त्रण गर्न अब त्यस्ता व्यक्तिलाई भोटै हाल्न नहुने कतिपयको बुझाइ छ ।

जनताको अभिभावक सरकार भए पनि २०४६ सालदेखि आएका सरकारले राष्ट्रिय पूँजीको विकास गर्न भन्दा अन्र्तराष्ट्रिय पुँजी स्वदेश भित्र्याउने परिपाटीप्रति आम नागरीक दिक्क मान्छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०७९ जेठ महिनामा वार्षिक विन्दुगत आधारमा ८ दशमलव ५६ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष ४ दशमलव १९ प्रतिशत रहेको थियो । अर्थात् १ वर्षकै अवधिमा मूल्यवृद्धिको अनुपात दोब्बर भएको छ ।

अघिल्लो जेठ महिनाको तुलनामा गत जेठ महिनामा घिउ तथा तेल २२ दशमलव ६० प्रतिशत, दाल तथा गेडागुडीमा ९ दशमलव १३ प्रतिशतले मूल्य बृद्धि भएको तथ्याङ्क राष्ट्र बैंकसँग छ ।