१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारको एक वर्षबारे सांसदहरू : प्रतिपक्षको प्रहार, सत्तापक्षको बचाउ


26
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसदहरूले सरकारको एक वर्षको कामबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रतिपक्ष दलका सांसदहरूले सरकारको आलोचनामा कडा शब्द प्रहार गरेका छन् भने सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले गठबन्धन सरकार आफ्नो मुल उद्देश्यमा सफल भएको बताउनुभयो ।

उहाँले सरकार प्रतिगमन विरोधी मोर्चामा सफल भएको बताउँदै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर पश्चगामी शक्तिलाई कमजोर बनाइएको दाबी गर्नुभयो ।

नेता गजुरेलले सरकारले कोभिड–१९ विरुद्धको संघर्षमा प्रभावकारी काम गरेको बताउँदै सरकारले सन्तुलित र जनमुखी बजेट ल्याएको उल्लेख गर्नुभयो । अर्थतन्त्र धरासयी हुने चिन्ताको बीचमा सरकारले अर्थतन्त्रलाई स्थिर राख्ने कोशिस गरेको उहाँको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा.भीम रावलले सरकारले आफ्नो प्रतिवद्धता विपरीतका काम गरेको बताउनुभयो । उहाँले सरकारले राष्ट्रिय हितको सुरक्षा गर्न नसकेको बताउनुभयो ।

परराष्ट्र नीतिलाई संविधान बमोजिम अगाडि बढाउन नसकेको भन्दै डा. रावलले सरकारले साझा न्यूनतम कार्यक्रम अनुरुप काम गर्न नसकेको बताउनुभयो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । देशको आर्थिक अवस्थाको सम्बन्धमा सरकार गम्भीर नभएको उहाँले बताउनुभयो ।

नेता कर्णले जनतालाई समयमा मल, बीउ उपलब्ध गराउन नसक्नु सरकारको असफलता भएको बताउनुभयो । सरकारले जनतालाई आपद्विपत पर्दा सेवा, सुविधा र सुरक्षा दिन नसकेको उहाँको भनाइ छ ।