१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उपसभामुखमा सत्ता गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता


143
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ ।

भुसालले संघीय संसद भवन नयाँ बानेश्वरमा आज (बिहिबार) मनोनयन दर्ता गराउनुभएको हो । भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको छ । उपसभामुखको निर्वाचन शुक्रबारको लागि तोकिएको छ ।

यसैबीच, नेकपा (एमाले) ले भने साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ । उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना रहेको नेम्वाङको भनाइ छ ।

प्रतिनिधिसभाको उपसभामुखका लागि बिहिबार मनोनयन दर्ताको समय तोकिएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने ४ जना निलम्बनमा परेका छन् । बाँकी रहेका २ सय ६६ जनाले मतदान गर्न पाउँछन् । उपसभामुख जित्नका लागि १ सय ३४ मत आवश्यक पर्छ ।

गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।