
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक सोच राख्ने कम्युनिष्टहरू एक हुुनपर्ने बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरू स्वतन्त्र नभइ विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरू भएको दाबी गर्नुभयो । पछिल्लो समय देशमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरू, वैज्ञानिकहरू र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा सुरु गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति सम्झौताका कारण राजनीतिक रुपमा पूर्ण हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको समाज नयाँ बाटोतिर जान नदिने भएकोले यसलाई तत्काल वैज्ञानिक समाजमा लैजान नसकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्