
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ताको लागि दिइएको समयसीमाभित्र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतम र नेकपा (एमाले)बाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।
भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । उपसभामुखको निर्वाचन भने शुक्रबार हुँदैछ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २६६ जनाले मतदान गर्न पाउँछन् ।
उपसभामुख जित्नका लागि १३४ मत आवश्यक पर्छ । गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् ।
जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्