
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्नुभएको छ ।
सांसद श्रेष्ठले गभर्नर अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले पद छोड्नु बेश हुने उहाँको भनाइ छ ।
अर्को प्रसङ्गमा सांसद श्रेष्ठले सरकारले अमेरिका सँगको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको भए पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको आरोप लगाउनुभयो ।
उहाँले सरकारले गरेको यसप्रकारको निर्णयको औपचारिक जानकारी अमेरिकी सरकार र सम्बन्धित प्रदेशलाई पत्राचारमार्फत तत्काल दिनुपर्ने बताउनुभयो ।
सांसद श्रेष्ठले कुनै पनि सैनिक गठबन्धन वा शक्ति राष्टहरुसँग अन्तर्निहीत हुने कुनै पनि कदम चाल्न सरकार तयार हुनु नहुने दिशामा अगाडी बढ्न अपिल पनि गर्नुभयो ।
संसदबाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको सम्बन्धमा पनि अमेरिकी सरकारले धारणा प्रष्ट नगरेकाले अमेरिकाको धारणा माग्न पत्राचार गर्नुपर्ने उहाँको भनाइ छ ।
अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगरेमा एमसीसी सम्झौतालाई नयाँ ढंगले सोच्नुपर्ने उहाँको भनाइ छ ।
यसअघि राष्ट्रियसभको शून्य समयमा पनि सांसदहरूले विवादमा तानिएका गभर्नर अधिकारीको बारेमा छानविन गर्न माग गरेका छन् ।
उनीहरूले राष्ट्र बैंकको ऐनविपरीत दलको सदस्य राष्ट्र बैंकको गभर्नर हुन योग्य नहुने भएकाले त्यसबारे छानविन गर्न सरकारसँग माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्