
सन्दीप श्रेष्ठ
काठमाडौं । क्यारिकेचर भन्नाले तपाईं के बुझ्नुहुन्छ ?
अरुको भावभंगी उतारेर अभिनय गरेको भन्ने सीधा बुझाई हुनसक्छ । तर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको क्यारिकेचर प्रदर्शनीमा जानुभयो भने स्रष्टाले बनाएका जीवन्त चित्रले तपाईंलाई भित्रभित्रै कुत्कुत्याउने छन् ।
स्थापित र प्रशिक्षार्थी कलाकारको सिर्जना साँच्चै प्रेरणादायी लाग्छ । कार्टुनले व्यंग्यवाण हान्छ तर क्यारिकेचर चर्चित व्यक्तित्वलाई भिन्दै तरिकाले चिनाउने काइदा हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको सहकार्यमा भएको क्यारिकेचर प्रदर्शनीमा ४२ कलाकारका ४८ सिर्जना राखिएका छन् ।
मूलधारका छापामाध्यममा काम गर्ने कार्टुन कलाकारदेखि विभिन्न कलेज पढ्ने २१ महिला प्रशिक्षार्थी कलाकारका कलाकृति यहाँ समावेश छ ।
प्रतिष्ठानले सातै प्रदेशमा यस्ता प्रदर्शनी भइरहेको जनाएको छ । तालिमबाट खारिएका नवप्रतिभाहरूको कलाकृति प्रदर्शनीमा राखिएको प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनाल बताउनुहुन्छ ।
कलाकार, पत्रकार, साहित्यकार, बैंकर्सदेखि समाजसेवीसम्म कुचीको छनोटमा परेका छन् ।
संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी, धरानका मेयर हर्क साङपाङ, कलाकार नीर शाह, हरिवंश आचार्य, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, रंगकर्मी सुनिल पोखरेल लगायतका चित्र क्यारिकेचरमा समेटिएका छन् ।
स्रष्टाको रुचिका पात्रका आधारमा चित्र कोरिएका रहेछन् । सीएनएन हिरो पुष्पा बस्नेतको क्यारिकेचर उतार्ने स्रष्टा सुजिता महर्जन समाजसेवामा उत्कृष्ट कर्म गरेकाले बस्नेतको चित्र बनाएको बताउनुहुन्छ ।
गाईजात्रामा दिवंगत आत्माको शान्तिका लागि भनेर अनेक हाउभाउमा देखाइने प्रदर्शनीलाई क्यारिकेचर भन्ने हाम्रो बुझाइ छ । तर चित्रमा स्वस्थ, रंगमा सौन्दर्यसहितको भावपूर्ण अभिव्यक्ति समाजले मागेको क्यारिकेचर हो ।
प्रज्ञा र चेतनाको दोभान मानिने ललितकला प्रतिष्ठानले नै यसलाई निरन्तरता दिनु आफैंमा सुखद खबर हो । आशा गरौं यसले चित्ताकर्षक चित्र उतार्ने स्रष्टा जन्माउन मद्दत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्