११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


जनार्दश शर्मा प्रकरण : छानविन समितिले अर्थ सचिव र राजश्व सचिवसँग छलफल गर्ने


299
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिको बिहीबारको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । उहाँले बुधबार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरे पनि नआएको र बिहीबार कार्यालय सयमभित्र आउने अपेक्षा गरेको बताउनुभयो ।

सचिव अर्यालले समितिले तोकिएको समयमा नै छानविन प्रतिवेदन तयार गर्ने दृष्टिकोण सहितको कार्यतालिका भने पास गरेको बताउनुभयो । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको बताउनुभयो ।

सचिव अर्यालले शुक्रबार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागज तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने बताउनुभयो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति रातको समयमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै पदबाट राजीनामा दिनुभएको थियो ।