
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र साेही अनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति गरेको हो ।
शान्ति प्रक्रियाका बाँकी काम चाँडो सम्पन्न गर्ने गरी अघि बढाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । उहाँले शान्ति प्रक्रियाका बाँकी काम चाँडो सम्पन्न गर्न आवश्यक पर्ने विधेयकहरु निर्माण र संशोधनलगायतका काम अघि बढाउन पनि नेताहरु सहमत भएको जनाइएकाे छ ।
सरकारले ७ वर्षअघि नै आयोगहरु गठन गरेपनि तिनले पीडितलाई ठोस न्याय दिन सकेका छैनन् । आयोगहरुले काम गर्न नसकेपछि सरकारले हरेक वर्ष एक-एक वर्षको समयावधि थप गर्दै आएको छ । दुवै आयोगको समयावधि असार मसान्तमा सकिँदैछ ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्