१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीलाई सत्ताच्यूत गराउन विदेशीको साथ रहेको उपेन्द्र यादवको खुलासा


6.864k
Shares

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताउनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नुभएको खुलासा गर्नुभएको हो ।

नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राजनीतिक कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पार्नुभयो ।

‘हाम्रो मुलुक ल्याण्डलक र अल्पविकसित मुलुक हो, राजनीतिक रूपमा अहिले पनि अस्थिरनै छ, यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी (केपी ओलीतर्फ देखाउँदै…) हुनुहुन्छ, उहाँ सँगसँगै म उहाँकै क्याविनेटको उपप्रधानमन्त्री थिए, म पूर्व भए,’ उहाँले भन्नुभयो, ‘केही दिनपछि उहाँ पनि पूर्व हुनुभयो, यो पनि भूराजनीतिकै प्रभाव हो, कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखिनै प्रभावित भएर आएको छ ।’

अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उहाँको भनाइ थियो ।

मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भू राजनीतिकले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।