
एजेन्सी, बैशाख २६ । चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पतिका बारेमा गरिने अनुसन्धानमा सघाउने बताएको छ । विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सघाउन चीन तयार भएको हो ।
तर उसले अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने शर्त राखेको छ । अमेरिकाले कोरोना भाइरसबारे चीनले पारदर्शिता नदेखाएको आरोप लगाएका बेला चीन अनुसन्धानमा सघाउन तयार भएको हो । अमेरिकी आरोपको खण्डन गर्दै आएको चीनले कोरोना भाइरसको उत्पति चीनभन्दा बाहिर नै भएको दाबी पनि बेलाबखत गर्ने गर्दछ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणले संसारलाई नै पिरोलेको छ । उत्पत्तिस्थल मानिएको चीनमा अरु देशको तुलनामा कम मानवीय क्षति भएको छ भने अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ करिब ७७ हजार मानिसको मृत्यु यसैका कारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्