
काठमाडौं । सरकारले लक्ष्यअनुसार बजेट खर्च गर्न नसक्दा सञ्चित कोषमा रकम थुप्रिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा सरकारी ढुकुटीमा ११ अर्ब १३ करोड रकम बचत भएको छ । सरकारको प्राप्ति औसत देखिए पनि खर्च लक्ष्यअनुसार नहुँदा सञ्चित कोष बचतमा गएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सरकारले गत आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले कुल बजेटको ७९ दशमलव ३९ प्रतिशत अर्थात् १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।
चालूतर्फ ९० दशमलव २५ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६२ दशमलव ५ प्रतिशत खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सरकारको कुल प्राप्ति भने १३ खर्ब सात अर्ब ४६ करोड हाराहारी रहेको छ । सरकारले यस वर्ष १० खर्ब ६७ अर्ब राजस्व, ४८ अर्ब ४५ करोड अन्य प्राप्ति, १९ अर्ब २७ करोड वैदेशिक अनुदान, दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण र ६८ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा सरकारले १ खर्ब ४ अर्ब बचत गरेको थियो । त्यसअघि २०७६/०७७ मा पनि सचित कोष १४ अर्ब १६ करोडले बचतमा रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा सञ्चित कोष १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ घाटामा गएको थियो । जुन हालसम्मकै सबैभन्दा बढी नोक्सान हो ।
त्यसयताका तीन आर्थिक वर्षमा भने कोष बचतमा गएको छ । पछिल्ला तीन आर्थिक वर्षमा सरकारी ढुकुटी वार्षिक रूपमा बचतमा देखिए पनि सरकार अझै घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७८/०७९ सम्ममा नेपाल सरकारको सञ्चित कोष १ खर्ब १ अर्बले घाटामा देखिएको हो । विगतका वर्षहरूका दायित्वसँग समायोजन गर्दा सञ्चित कोष अझै घाटामा देखिएको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार १० वर्ष अघिदेखिको सञ्चित घाटा अझै पूर्ति हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्