१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सांसद ‘अपहरण’ प्रकरणः संसदमा बहस, प्रहरीमा अनुसन्धान !


0
Shares

काठमाडौं बैशाख २६ । अन्ततः सांसद ‘अपहरण’ प्रकरण संसदमा प्रवेश गरेको छ । संसदमा अपहरणकाण्डको जमेर बहस भइरहँदा प्रहरीसमक्ष अनुसन्धानका लागि उजुरीको फाइल पुगेको छ ।

शुक्रबार शुरु भएको संघीय संसदको प्रतिनिधि सभा बैठकमा हालै समाजवादी पार्टी फोड्न उक्त पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई सत्तारुढ नेकपाका दुई सांसद र पूर्वआईजीपीले महोत्तरीदेखि काठमाडौंसम्म ल्याएको विषयलाई सांसदहरुले उठाएका हुन् ।

पार्टी फुटाउन दल विभाजनमा खुकुलो प्रावधान राख्दै अध्यादेश नै ल्याएको सरकारले तत्कालै समाजवादी पार्टी फुटाउन आफ्ना दुई सांसद महेश वस्नेत र किसान श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनाललाई प्रयोग गरेको आरोप लागेको छ ।

देशभर बन्दाबन्दी रहेका बेला उनीहरु काठमाडौंदेखि महोत्तरीसम्म पुगेर इच्छा नहुँदा नहुँदै पनि सांसद यादवलाई काठमाडौंसम्म ल्याएको उक्त पार्टीका नेताहरुले दावी गरेका छन् । सांसद यादवले आफूलाई अपहरण गरेर काठमाडौं ल्याएको भन्दै प्रहरीमा उजुरी दिन जाँदा उजुरी नलिएपछि सरकारी वकीलको कार्यालयमार्फत् उजुरी दर्ता गराएका छन् । 

यसै विषयलाई संसद बैठकमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र बाबुराम भट्टराईले सांसद डा. यादवको अपहरण सरकारकै संरक्षणमा गरिएको आरोप लगाउँदै सत्य तथ्य सार्वजनिक गर्न र घटनामा संलग्नलाई कार्वाहीको माग गरे ।

सांसद अपरहणप्रति आपत्ति जनाउँदै राजपाका सांसद राजेन्द्र महतोले, के का लागि अध्यादेश ल्याइयो ? जनता महामारीमा रुमलिएका बेला सरकारको ध्यान कता छ भन्ने प्रश्न गर्दै सरकार अर्कै धन्दामा लागेको बताए । उनले पार्टी फोर्ने, सांसद चोर्ने, अपहरण गर्ने गराउने यो के हो ? अपहरणकारीलाई कारबाही नहुने भन्दै संसदसमक्ष प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीद्वय देउवा, भट्टराईसहितका विपक्षी दलका नेताहरुले आफ्ना सांसदमाथि अपहरणको आरोप लगाएपछि सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आफ्नो दल कुनै पनि खालको आपराधिक कार्यको पक्षमा नरहेको भन्दै बचाउ गरे ।

नेता नेम्वाङले आफ्नो दल नेकपा अपहरणकाण्डको छानबिनको पक्षमा रहेको भन्दै यो संसद चल्दाचल्दै सत्य तथ्य चाँडै बाहिर आउने विश्वास दिलाए ।

संसदमा अपहरणकाण्डको जुहारी चलिरहँदा उता डा. सांसदले सरकारी वकीलमार्फत् दर्ता गरेको उजुरी प्रहरीमा पुगेको छ । शुक्रवार प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको र अनुसन्धानको प्रक्रिया शुरु भएको प्रहरी स्रोतले जनाएको छ ।

आफ्नो संगठनको पूर्वप्रमुख नै मुछिएको उक्त घटनाको काठमाडौं प्रहरीले काठमाडौंमा उजुरी लिन नमिल्ने, महोत्तरीमै गएर दर्ता गर्न भन्दै पन्छाएको थियो । सांसद यादवले घटनाको मानवअधिकार आयोगसमक्ष पनि उजुरी गरेका छन् । आरोपित सांसद वस्नेत, श्रेष्ठ र खनालले पनि आफूहरुमाथि झूठ्ठा मुद्दा लगाइएको भन्दै आयोगमा उजुरी दिएका छन् ।