२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल टी–२० लिगका लागि चार टोली घोषणा, यी हुन् नाम


195
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि सोमबार चार टोलीको घोषणा गरिएको छ ।

असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थिति त्रिभूवन विश्वविद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय मालिक रहेका छन् । कान्तिपुर क्यापिटल नाम भएको नेपाली टोलीमा कान्तिपुरका महेश स्वार मालिक रहेका छन् ।

लुम्बिनी अल स्टार नाम रहेको दोस्रो टोलीमा अमेरिकी मालिक सञ्जय शर्मा छन् भने भारतीय विक्रम यादव मालिक रहेको विराटनगर सुपरकिंग्ससँग डायमन्ड डिजिक्याप प्रा.लि. जोडिएको छ ।

यस्तै अर्को भारतीय टोली जनकपुर रोयल्ससँग गोल्ड स्पोर्ट्स प्रा.लि. जोडिएको छ । जनकपुरमा गौरीशंकर धमानी मालिक रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । बाँकी दुई टिमको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ ।

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।

नेपाल क्रिकेट संघको ड्रीम प्रोजेक्ट हेरिएको टी–२० लिग आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली त्रिकेट, नेपाली क्रिकेट खेलाडीलाई लाभान्वित होस् भन्ने रहेको जनाएको छ ।

क्यानले भारतको सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यवसायिक र रणनीतिक साझेदारका रूपमा भित्र्याएको छ । यद्यपि सम्झौताको विषयमा लिएर विभिन्न टिकाटिप्पणी भएका छन् ।