
पाल्पा । पाल्पाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा पर्न थालेका छन् ।
विपत्ति बाजा बजाएर आउँदैन् । कति बेला कहाँ के हुन्छ भन्ने कुरा आंकलन पनि गर्न सकिदैन् । तर विकासका लागि हुने गतिविधिका कारण पहिरो जान सक्ने कुरालाई भने नकार्न सकिदैन् । पाल्पाको तिनाउमा सिमेन्ट उद्योगले चुनढुंगा निकालेका कारण अधिकांश बस्ती पहिरोको उच्च जोखिममा पर्दै गएका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित पास कुण्डमा भल व्यवस्थापन नहुँदा विगत तीन वर्षदेखि १० वटा घर जोखिममा रहेका छन् । बस्ती नजिकै अल्फा सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उत्खनन् गर्ने गरेका कारण पनि वर्षामा यहाँ समस्या हुने गरेको हो । माथिबाट उत्खनन् गरेको माटो खस्ने गरेको र बस्तीमा दिगो रुपमा भल व्यवस्थापन हुन नसक्दा तल्लो तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ ।
अत्यन्तै कमजोर भू–बनोट रहेको यो बस्तीमा खानी क्षेत्रबाट आएको भलका कारण घर तथा विद्यालय भासिने र चर्किने क्रम बढेको छ । खानीबाट आउने वर्षाको भलले खेतीयोग्य उर्वर भूमि बगरमा परिणत भएका छन् । दोभान पास कुण्ड गाउँस्थित कालिका आधारभूत प्राथमिक विद्यालयको पठनपाठन समेत अवरुद्ध हुने गरी क्षति पुगेको छ । खानी उत्खनन्का कारण घर, गोठ पहिरोले थिच्ने त्रासमा रात काट्नु परेको स्थानीय गीता बिकको भनाइ छ ।
सिमेन्ट उद्योग र स्थानीय सरकारले यहाँको भल व्यवस्थापनमा चासो नदिँदा वर्षाको समयमा डराएर दिन बिताउनु परेको स्थानीय बताउँछन् । खानी क्षेत्रबाट आएको भलका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुनाका साथै घर चर्किएको पीडित निशा आचार्य बताउनुहुन्छ ।
बस्तीको तल्लो भागमा खोला र खानी उत्खनन्को पहुँचमार्ग भएका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा आएको छ । स्थानीय सरकार, स्थानीय प्रशासनबाट समेत उपेक्षित पास कुण्डमा खानीका कारण बस्तीनै उजाडिएको स्थानीय सन्तोष सोमैले बताउनुभयो ।
सिंगो बस्ती नै पहिरोको उच्च जोखिममा रहँदा समेत स्थानीय, प्रदेश र संघीय सरकार बेखबर बनेका छन् । नागरिकलाई विपद पर्नै नदिने र विपद परेकाे बेलैमा उद्धार र राहतमा जुट्नु सरकारको जिम्मेवारी भएकाले यसतर्फ तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्