१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन : प्रेम सुवाल


104
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उहाँले बताउनुभयो । आमा र बुबा दुबै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानविन गरी खारेज गर्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । त्यस्तै, नेपालीले विदेशी सँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृति बारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेमा नेपालको कृतिम नागरिकता दिनुपर्ने बताउनुभयो ।