३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्छ : सांसद अधिकारी


377
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति विरोध गरेको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् ।

एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्दा अन्य सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार भने ७ वर्षपछि पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो –‘वंशजको आधारमा जन्मसिद्ध नागरिक कसलाई भन्ने र भोलि त्यसको राजकीय पक्षमा प्रमुख पदहरुमा कसरी जाने भन्नेकुरालाई समेत ध्यान नदिएर गयौँ भने हाम्रा भावि सन्तानहरुले हामीलाई कुन दिशातिर गाइड गर्नेछन् ? नेपाली पुरुषसँग विदेशी महिलाले जुन विवाह गरिन् । तिनले अरु सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार ७ वर्षपछि पाउने व्यवस्था राखौँ भन्नका निम्ति हामीले संयुक्त संशोधन गरेको हो । त्यसलाई पारित गर्न अनुरोध गर्दछु ।’