
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ कारागार चलान भएकी छन् ।
गत मंगलबार केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको रामशाहपथबाट पक्राउ परेकी शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको हो ।
अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीको इजलासले सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन श्रीमती शाक्यको संलग्नता भएकोे ठहर गरी जेल चलानको आदेश दिइएको थियो ।
सो सहकारीको लेखा समिति सदस्य समेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो ।
तामाङले सिभिल सहकारीबाट बिनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेकोसमेत खुलेको छ । १५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा उनका पति इच्छाराज तामाङ पक्राउ परेपछि फरार शाक्य १ वर्षपछि पक्राउ परेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्