
काठमाडौं । प्रमाण मेटाएका, दोषी बेपत्ता भएका वर्षौंअघिका अपराधलाई प्रहरीले कसरी पत्ता लगाउँछ । अझ सूचना प्रविधिको युगमा अपराध गर्ने शैली पनि फेरिएको अवस्थामा प्रहरी मातहत रहेको विधिविज्ञान प्रयोगशालाले अपराधी पत्ता लगाउन गहन भूमिका निर्वाह गरेको हुन्छ । हत्या, बलात्कार, आत्महत्यादेखि लागू औषधको तस्करसम्म पुग्न घटनास्थलबाट लिइएको नमुनाका आधारमा मुख्य अभियुक्तसम्म पुग्न प्रहरी सफल हुने गरेको छ ।
कुनै पनि अपराध होस, त्यसमा अपराधीको पहिचानका लागि घटनास्थलमा भेटिएका कुनै पनि वस्तु, थुक, धारिलो हतियार, रगत, फिँगर प्रिन्ट, लिखित कागजात, भिसेरा र डिएनएलगायत विभिन्न चिन्हहरुको पहिचान र तुलनाको लागि अनुसन्धान गर्ने निकाय हो विधिविज्ञान प्रयोगशाला । नेपाल प्रहरीको देशभरका २ सय १८ वटा अनुसन्धान निकायले पठाउने नमुना यही प्रयोगशालाबाट परीक्षण गरी अपराधी पत्ता लगाउने गरिएको छ । यहाँ रहेका अत्याधुनिक उपकरणले घटनास्थलबाट घटनाको प्रकृति अनुसार पीडित र अपराधीको नमुना संकलन गरी मेल खाएको छ वा छैन भनी यही प्रयोगशालामा परीक्षण गरिने प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंह बताउनुहुन्छ ।
निक्कै नै संवेदनशील यस प्रयोगशालामा तालिम प्राप्त १ सय १० जना प्राविधिक जनशक्ति कार्यरत छन् । देशमा भएका ससाना देखि गम्भीर प्रकृतिका घटनाको अनुसन्धानको मर्म यही प्रयोगशालामा टुंगिन्छ । नेपालमा हुने अधिकांश आपराधिक घटनाका दोषीसम्म पुग्ने प्रमुख भूमिका यही प्रयोगशालाले निभाउने गरेको छ । अपराधमा उपयोग भएको बन्दुक र पेस्तोलको गोलीको खोकाका आधारमा समेत अपराधी पहिचान गरिने सिंह बताउनुहुन्छ ।
प्रयोगशालाभित्र निकै नै संवेदनशील भनेको डिएनए कक्ष हो । जहाँ कार्यरत प्रहरीको ध्यान निकै नै केन्द्रित हुनुपर्ने भएकाले यस कक्षमा दक्ष जनशक्ति परिचालन गरिएको छ । नेपालमा पछिल्लो समय मौलाएको बलात्कारका घटनामा डिएनए संकलन गरी परिक्षण गर्दा निकै समय लाग्ने भएकाले जतिसक्दो छिटो सही परिक्षण गर्ने गरिएको छ । कुनै पनि आपाराधिक घटनामा पक्राउ परेका अपराधी पुर्पक्षका लागि थुनामा रहेको र फरार रहेको अवस्थामा यही प्रयोगशालाबाट बुझाएको अन्तिम रिपोर्टले अपराधी पहिचान हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्