६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एक वर्षमा ३ खर्ब बढीको पेट्रोलियम पदार्थ आयात


221
Shares

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ ।

रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर मूल्यको आयात भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । स्थानीय बजारमा इन्धनको खपत सामान्य बढेर परिमाणमा समेत वृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले दोब्बर परिणामको इन्धन आयात भएको बताउनुभयो । गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर उकालो लागेको थियो । मूल्य बढेका कारणले गर्दा दोब्बर परिणामको इन्धन आयात भएको निगमको भनाइ छ ।

मूल्य वृद्धिसँगै स्थानीय बजारमा माग बढेकाले आयातमा समेत सामान्य वृद्धि भएको छ । निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, पेट्रोल सात लाख ३७ हजार ३१२ किलोलिटर, हवाई इन्धन एक लाख ५७ हजार ५७२ किलोलिटर आयात भएको छ । मट्टितेल १७ हजार २८० र खाना पकाउने एलपी ग्यास पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ ।

निगमका अनुसार एक वर्षमा डिजेल दुई प्रतिशत, पेट्रोल २४ र ग्यास १३ प्रतिशतले खपत बढेको छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा इन्धनको खपत बर्सेनि बढ्ने गर्छ ।