१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहिद स्मृति विद्यालयका विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै सिप पनि सिक्दै


195
Shares

नवलपुर । नवलपुरको कावासोतीस्थित शहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुस्तकको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन थालेको छ ।

साेही विद्यालयका विद्यार्थीले उत्पादन गरेका तरकारी समेत बिक्री गर्न सुरु गरिएको छ । जेटिए अध्ययनका लागि विद्यालयमा ४० जनाको कोटा समेत निर्धारण गरिएको छ ।

कावासोती नगरपालिका– ३ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयले सैद्धान्तिक ज्ञानका साथै विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि दिने काम गरिरहेको छ । विद्यालयले कृषितर्फ पि.जे.टी.ए. अध्ययनरत विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सिपसँग जोड्ने काम गरिरहेको हो ।

जेटिए अध्ययनरत विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा कसरी उतार्ने, फिल्डमा पुग्दा कसरी काम गर्ने भन्ने विषय अन्योल नहोस् भनेर विद्यालयले विद्यालय हाताभित्र नै तरकारी खेतीगरि ज्ञानलाई सिपसँग जोड्ने काम गरेको छ ।

विद्यालय परिसरको बारीमा अहिले लटरम्म टमाटर, लौका, घिरौला फलेका छन् । विद्यार्थीले भोलिका दिनमा ढुक्कसँग कृषकलाई बुझाउन सक्ने भएकाले यस्ता विभिन्न विधिबाट परीक्षण सिकाई अभ्यास गराइएको छ ।

पिजेटिए अध्ययनका लागि अन्यन्त्र जिल्लाबाट समेत विद्यार्थीहरु आएका छन् । बागलुङबाट नवलपुर अध्ययनका लागि आएकी करिमा घर्ती मगरले मल्चिङ् प्रणालीबाट थोरै क्षेत्रफलमा कसरी उत्पादन बढाउन सकिन्छ भन्ने सिपको विकास भएको बताउनुभयो ।

शहिद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीले उत्पादन गरेका तरकारी बिक्री गर्ने गरिएको छ । बिक्री गरिएको तरकारीबाट भएको आम्दानी विद्यालयको प्रयोगात्मक अभ्यास र प्रयोगशालामा खर्च गर्ने गरिएको छ । विद्यालयले सञ्चालन गरेको पि.जे.टी.ए.मा हाल २५ जना अध्ययनरत छन् ।

जेटिए अध्ययनका लागि विद्यालयमा ४० जनाको कोटा निर्धारण गरिएको छ ।