
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताउनुभयो ।
उहाँले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताउनुभयो ।
सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो । सको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिनुभयो । साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फपनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धी र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्