२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


परिचयपत्र हराएका/खोप नै नलगाएकालाई उपत्यकाका सार्वजनिक स्थलमा कोरोना खोप


377
Shares

काठमाडौं । कुनै बेला कोरोना महामारीविरुद्धको एउटा खोप लगाउन साम, दाम, दण्ड, भेद अपनाउनु पथ्र्यो । खोप पहुँचवालाका लागि मात्र हो कि भन्ने भान पथ्र्यो । तर अहिले काठमाडौं उपत्यकाभित्र घना बस्ती भएका विभिन्न ठाउँमा खोप लगाउन आव्हान गरिएको देखिन्छ । खोप लगाउन बाँकी र खोपको कोर्स पूरा नभएका सबै उमेर समूहका लागि यो सेवा उपलब्ध हुने गरेको छ ।

एउटा खोपका लागि सोर्सफोर्स, नाताबाद, राज्यशक्तिको दुरुपयोगदेखि घण्टौंको कष्टपूर्ण लाईनको पीडा अहिले पनि धेरै नेपालीको झझल्कोमा आउँछ । खोप लगाउन पाउनु महाभारत जिते सरह हुन्थ्यो । अहिले समय र परिस्थिती फेरिएको छ । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाको समन्वयमा राजधानीको भीडभाड क्षेत्र बागबजार, कालीमाटी तरकारी बजार, कोटेश्वर तरकारी बजार, डिल्लीबजारको मालपोत कार्यालय, पशुपति मन्दिर परिसर र स्वयम्भु भगवान पाउमा बिहान र दिउँसो गरी खोप अभियान सञ्चालन गरेको छ । यो अभियानको लक्ष्य श्रमिक, सवारी चालकलगायत परिचयत्रपत्र हराएका वा खोप नै नलगाएकाहरुलाई समेटनु रहेको छ ।

खोप केन्द्र नजिकबाट ओहोरदोहोर गर्ने जो कोहीले पनि खोपबारे जिज्ञासा राख्ने गरेका छन् । ठाउँ को ठाउँ खोप सुविधा पाउँदा खुसी छन् ।

गत मंसीर महिनाको शुरुवातदेखि थालिएको अभियान दैनिक १ सय ५० देखि १ सय ८० सम्मले खोपको तेश्रो मात्रा लगाउने गरेका छन् । सधैं व्यस्त रहने बागबजारमा भने खोपको बारे जानकारी सजिलै पाइने भएपनि डिल्लीबजार मालपोत कार्यालयको प्रांगणमा भने सरसफाइको कमीका कारण खोप लगाउनेको संख्यामा केही कमी पाइएको छ ।

कोरोना महामारीको चोथौ लहरको जोखिम उत्तिकै बढेको बेला खोप लगाउन अन्योलमा परेका नागरिकका लागि झन्झटबिना सजिलो र छरितो ढंगले खोप लगाउने व्यवस्था हर्षको विषय हो । सचेत भई नागरिकले घरदैलोमा आएको सेवाको फाइदा उठाउन जरुरी छ ।