
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको अघिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब बढीको सामान आयात भएको हो । उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
एक वर्षको अवधिमा नेपालले भारतबाट १२ खर्ब १५ करोड २७ लाख बढीको सामान ल्याएको थियो ।
१२ खर्ब बढीको सामान आयात हुँदा यताबाट एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग दश खर्ब ४४ अर्ब ९३ करोडको व्यापार घाटा व्यहोरेको थियो ।
दोस्रो आयात चीनबाट भएको छ । एक वर्षमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोडको आयात र ८० करोड ८७ लाखको सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोडको व्यापार घाटा भएको थियो ।
२०७८/०७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको हो ।
गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर व्यापार घाटा थियो ।
एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्