
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।
गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४ सय ५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् । एक लाख ५५ हजार ६ सय आन्तरिक तथा १९ हजार ९ सय सार्क मुलुकका र १४ हजार ८ सय विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार राजस्व संकलन गरेको छ । निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १ सय ५०, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशीले दुई हजार रुपैयाँ शुल्क बुझाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्