१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपीबारे सुनेको भरमा छलफल गर्नु हुँदैन : सांसद सिंह


377
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताउनुभएको छ ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राख्नुभएको हो ।

उहाँले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताउनुभयो । आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भुमिकाको बारेमा धारणा बनाउनु उपयुक्त हुने उहाँले बताउनुभयो ।

उहाँले सबै दलहरुले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर संविधानको मर्मलाई अक्षरश पालना गर्नेगरी गतिविधि अगाडी बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एसपीपीमा नेपाल सामेल नहुने पत्र अमेरिकालाई नपठाउनुले अँध्यारो कुनामा खिचडी पाक्दै छ कि भन्ने शंका उत्पन्न भएको बताउनुभयो । उहाँले सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन नसकेको टिप्पणी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालकि सांसद रेनुका गुरुङले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले विश्व द्वन्द्वमा फसिसकेको भन्दै नेपाललाई शान्ति क्षेत्र बनाउनु अपरिहार्य भइसकेको बताउनुभयो ।

उहाँले नेपाल सैन्य गठबन्धन बाट अलग हुनुपर्ने र असंलग्न परराष्ट्र नीतिलाई जोड दिनुपर्ने बताउनुभयो ।