२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालको लगातार दोस्रो जित


598
Shares

काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो । ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । त्यसपछि ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए ।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा कब्जा जमाएको छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० ले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।