२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सभामुखको आग्रह


65
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढिभन्दा बढि सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले मतदाताहरुमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनहरुमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाहरुको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

त्यस अवसरमा सभामुख सापकोटाले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरूलाई सचेत गराउनुभयो । हामी जनप्रतिनिधिहरूको जीवनस्तरमा परिवर्तन आए पनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरूले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरूले दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

समाजमा विद्यमान महिलाहरूलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वसभामुख ओनसरी घर्तीले भोलीको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिलेनै राजनीतिक दलहरूले महिलाहरूलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढिभन्दा बढि सहभागिता गराउन लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।

घर्तीले आरक्षण र विशेषाधिकार केही समयको लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरूले पनि पहलकदमी लिनुपर्ने बताउनुभयो । विशेषाधिकारको उपयोग गरेर महिलाहरुले आफूलाई कमजोर सावित गर्न नहुने उहाँको भनाइ छ ।