
काठमाडौं। ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप भारतको प्राविधिक सहयोगमा संचालित सो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
यसमा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यो कार्यक्रम ६ महिनासम्म चल्ने बैंकले जनाएको छ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्ने जनाएको छ ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । दोस्रो ब्याचको आवेदनको अन्तिम दिन बैंकले भदौ २० तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्