२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एसपीपीलाई अघि नबढाउने लिखित जानकारी साउन ९ गते नै अमेरिकालाई गराए: मन्त्री खड्का


195
Shares

काठमाडाैं । सरकारले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई यहि साउन ९ गते नै दिएको बताएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी गराउदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले यहि साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताउनुभयो । परराष्ट्र मन्त्री खड्काले २०७९ असार ६ को मन्त्रिपरिषद बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेतापनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको सर्वोच निकाय मन्त्रिपरिषदकाे बैठकले गरेको निर्णयका विषयमा सांसदहरुले शंका व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी गर्नुभयो । मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपीपीलाई अगाडि नबढाउने मन्त्रीपरिषदबाट निर्णय भइसकेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरको व्यहोरा संसदलाई जानकारी गराउन चाहन्छु । यस सम्बन्धमा सांसदहरुबाट व्यक्त भएका धारणाप्रति आभार व्यक्त गर्न चाहन्छु । यहि साउन ९ गते २५ जुलाई २०२२ का दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीअघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाएको जानकारी गराउन चाहन्छु । पत्राचारका विषयमा आन्तरिक परामर्स गर्न परेकाले पत्राचार गर्न केही समय लागेको हो । केही मान्य सांसदहरुबाट यो विषयमा संसदमा प्रश्न गर्दै संशय व्यक्त गरेको सुनेको छु । तर यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ । नेपाल सरकार एउटा सार्वभाैम राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयको विषयमा शंका गर्नु अस्वाभिक नै हुन्छ । विभिन्न निकायहरुबीच छलफल गर्नु परेकाले समय लागेको जानकारी गराउँछु । गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको छ ।’

मन्त्री खड्काले सांसद, सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गराएको बताउनुभयो । उहाँले विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नु परेकाले केही समय लागेको स्वीकार समेत गर्नुभयो ।