
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रतिवेदन पेश गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले यसअघि सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउनुभएको थियो ।
बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।
बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ । समितिले नै मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारलाई सफाइ दिएको हो ।
प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिक्स पठाउँदा जेठ १४ र १५ गतेको ५१ वटा सिंगल फ्रेमका क्लिपहरू प्राप्त भए पनि चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगपूर्ण नरहेको समितिको प्रतिवदेनमा उल्लेख छ ।
संसदीय छानबिन विशेष समितिमा कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव सदस्य रहेका छन् ।
प्रमुख प्रतिपक्ष एमालेका ४ सांसदले भने समितिको यो प्रतिवेदनमा राखिएको निष्कर्षको विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्