१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि असहज : अध्यक्ष गोल्छा


91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताउनुभएको छ ।

शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डर्स एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो गुनासो गर्नुभएको हो । उहाँले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न मौद्रिक नीति कसिलो आएकाले व्यवसायीहरुको लागि सहज नभएको बताउनुभयो ।

अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर र तरलता अभावलाई अझै बढाउने दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकको कसिलो मौद्रिक नीति छोटो समयकालागि मात्रै कायमहुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले औधोगिक उत्पादनको लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको बताउनुभयो । उहाँले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गर्नुभयो ।

अध्यक्ष गोल्छाले पछिल्लो समय विद्युत, सिमेन्ट र फलाम जस्ता सामान निर्यात शुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको दाबी पनि गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिने समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने र यसका लागि उत्पादन लागत घटाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले बनाएका सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान नभएसम्म बन्दरगाहको कुनै अर्थ नभएको समेत बताउनुभयो ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै आर्थिक ऐनहरु संसदमा विचाराधिन अवस्थामा रहेको भन्दै यही बजेट अधिवेशनबाट पास गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष मल्लले मौद्रिक नीतिले विगतमा व्यवसायीहरुलाई दिएको सुविधा समेत कटौती भएको तथा बैंकको ब्याजदरको बेस रेटको प्रिमियम समेत ४ पतिशत लिने नीतिले महँगी बढाउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।