१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धन सरकारका कारण संघीयतामाथि प्रश्न उठ्यो : उपाध्यक्ष ज्ञवाली


156
Shares

कैलाली । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले गठबन्धन सरकारका कारण संघियतामाथि प्रश्न उठिरहेको बताउनुभएको छ ।

धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञावालीले प्रदेश सरकारहरूले गरेको बेथितिका कारण संघियतामाथि प्रश्न उठिरहेको बताउनुभएको हो ।

एमालेले प्रदेश सरकारहरूको नेतृत्व गरेका बेला राम्रै काम भएकाले प्रश्न नउठेको बताउँदै ज्ञवालीले वर्तमान गठबन्धनमा बनेका प्रदेश सरकारले जनमुखी काम गर्न नसक्दा प्रश्न उठेको बताउनुभयो ।

गठबन्धन सरकार मन्त्री थप्ने, फेरबदल गर्ने गरी निजी स्वार्थ मात्रै पूर्तिमा लागेकाले जनतामा आक्रोश पैदा भएको ज्ञवालीको तर्क छ । संघियता आफैँमा गलत नभए पनि शासन गर्नेहरूले गलत गर्दा प्रश्नहरू उठेको उहाँले बताउनुभयो । संघियता खारेजी नभई सबल नेतृत्व चुन्नुपर्नेमा उहाँको जोड छ ।

उपाध्यक्ष ज्ञवालीले वाम एकता अहिलेकै अवस्थामा सम्भव नरहेको बताउनुभयो । कांग्रेसको पछि लागेर वाम एकता हुन नसक्ने बताउनुभयो । माओवादी र एकीकृत समाजवादीले कांग्रेसको साथ छाडेर आए वाम गठबन्धनको सम्भावना भने रहेको उहाँको भनाइ छ ।

ज्ञवालीले वर्तमान सरकारले कुनै जनमुखी काम गर्न नसकेको दाबी गर्नुभयो । एमालेले सरकार चलाउँदा राम्रो अर्थतन्त्र र नेपालीको स्वाभिमान बढाउने काम गरे पनि गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त पार्नुका साथै नेपालीको शीर निहुरिने खालका राष्ट्रघाती काम गरेको उहाँको आरोप छ ।