१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छानबिन समितिमा भएका एमाले सांसद भन्छन् : प्रतिवेदन अपूर्ण छ, हाम्रो असहमति छ


1.053k
Shares

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट संसदीय विशेष छानबिन समितिका सांसदहरूले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै समितिमा भएका एमाले सांसदहरूले प्रतिवेदन अपूर्ण भएको बताए । उनीहरूले प्रतिवेदनमा एमालेका चारै जना सांसदहरूको असहमति रहेको जिकिर गरे ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभयो । समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताउनुभयो ।

ज्ञवालीले छानबिनको लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्ने बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताउनुभयो । उहाँले वास्तविक प्रमाणहरू जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भए पनि सत्तापक्षका सांसदहरू एक मत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताउनुभयो ।

सदस्य ज्ञवालीले सत्तापक्षका सांसहरू पार्टीको आग्रहमा सत्यतथ्य प्रमाण संकलन गर्ने टुलर्सहरू प्रयोग गर्ने विषयमा एकमत नभएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालय जस्तो स्थानमा सिसिटिभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनितीक नेतृत्व नै चुकेको दाबी गर्नुभयो ।

समिति सदस्य विमला विकले नेकपा एमालेका चार जना सदस्यको समितिको प्रतिवेदनमा नै असहमति रहेको बताउनुभयो । उहाँले समितिले अपूर्ण अध्ययन, अपूर्ण प्रमाणकै आधारमा प्रतिवेदन तयार पारेको बताउनुभयो ।

विकले समितिमा सरकार गठबन्धनका सांसदहरूको बहुमत बनाएर योजनावद्ध रूपमा समिति गठन गरेको कुरामा दुई मत हुन नसक्ने अवस्था भएको बताउनुभयो ।

उहाँले करका दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणमा पुग्ने कुरामा सत्तापक्षका सांसदहरू सहमत नभएको आरोप लगाउनुभयो । चार जना सदस्यको २७ बुँदामा असहमति जनाएको पनि बताउनुभयो ।