१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोलुखुम्बु पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा


65
Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुलाई चालू आर्थिक वर्षका लागि पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा जन्मेदेखि १५ महिनासम्मका सबै शिशुहरुले खोपको पूरा मात्रा प्राप्त गरेसँगै पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । यसअघि जिल्लालाई २०७६ सालमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकाे थियो।

तर पूर्ण खोप दिगोपना सुनिश्चितता भने वर्षेनी घोषणा गर्नुपर्ने जनाइएको छ । शिशुहरुलाई बीसीजी, डीपीटी, पोलियो, दादुरा, रुबेला, हेपटाईटिस र जेइ लगायतका गरी १३ वटा रोग विरुद्धका ८ प्रकारका खोपहरु लगाइने स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सेही जिल्लाका ८ स्थानीय तहमा १ सय १० वटा खोप केन्द्र रहेका छन् । जसमा सोलुदूधकुण्ड नगरपालिकामा ३१ वटा, थुलुङ दूधकोशी गाउँपालिकामा २१ वटा, नेचासल्यानमा ११ वटा, सोताङमा १० वटा, महाकुलुङमा १२ वटा, माप्यदूधकोशीमा ११ वटा, खुम्बु पासाङल्हामुमा ८ वटा र लिखुपिकेमा ६ वटा केन्द्र रहेका छन् ।

साेही खोप केन्द्रहरुबाट बाह्रै महिना खोप सेवा उपलब्ध रहेको कार्यालयका प्रमुख नारद सुवेदीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा हुनु खुशीको कुरा भएको बताउदै यसलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको समेत बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले खोपको मात्रा पूरा नगरेका शिशुहरु स्वस्थ बन्न नसक्ने भएकाले आफ्नो शिशुलाई खोपको दायरामा ल्याउन अभिभावकहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अनिल खनालले बाल मृत्युदर घटाउने भरपर्दो माध्यम नै खोप भएकाले सबै स्वास्थ्यकर्मीहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका आयोजनामा भएको कार्यक्रममा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणाका लागि सहयोग गरेको भन्दै जिल्लाका ८ वटै पालिकालाई प्रसंशा–पत्र प्रदान गरिएको छ । कार्यक्रममा जिल्लाका सबै पालिकाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।