१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकाको केन्टकीमा बाढी र वर्षा, कम्तीमा २५ जनाको मृत्यु


429
Shares

एजेन्सी । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

गएको तीन दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

बाढीमा हराएकाहरुको खोजी भइरहेकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । ठूलो वर्षा र बाढीका कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरमा बिजुली सेवा बन्द भएको छ ।

घर डुबेपछि मानिस छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेशनल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ ।

केन्टकी प्रान्तमा अझै एक हप्ता ठूलो पानी पर्ने सम्भावना रहेको अमेरिकाको राष्ट्रिय मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।