
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताउनुभएको छ ।
शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उहाँले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताउनुभयो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए ।
ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाउनुभयो । सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उहाँले सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको ओलीले बताउनुभयो ।
करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समितिले १७ दिनपछि हिजो छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको थियो । एमालेले त्यो प्रतिवेदनको विरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्