
एजेन्सी, जेठ २ । अमेरिकाका एक वरिष्ठ स्वास्थ्यविज्ञले आउँदो हिउँदमा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने र देशले आधुनिक इतिहासमै सबैभन्दा खराब समयको सामना गर्नु पर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गत महिना बर्खास्त गरिएका कोरोना भाइरसविरुद्धको खोप बनाउने सरकारी निकायका प्रमुख रिक ब्राइटले अमेरिकी कंग्रेसको सुनुवाईमा कोरोना भाइरसको जोखिम तत्काल अन्त्य नहुने पनि प्रष्ट्याए ।
राष्ट्रपति ट्रम्पबाट कोरोना भाइरसको उपचार हुने भन्दै सुझाइएका अप्रमाणित औषधि तथा विधिप्रति गम्भीर चासो व्यक्त गरेलगत्तै आफूलाई बर्खास्त गरिएको उनले बताउने गरेका छन् ।
असन्तोषी कर्मचारी भन्दै ट्रम्पले हटाएका ब्राइटले अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको स्वास्थ्य उपकमिटीसमक्ष महामारीको सुरुवाती चरणमै प्रशासनले उचित कदम नचाल्दा धेरै मानिसको मृत्यु भएको बताए ।
गत जनवरीमै कोभिड १९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको आफूले ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको उनको भनाइ थियो ।
ब्राइटले कोरोना भाइरसको महामारीसँग जुध्ने अवसर अमेरिकाले गुमाएको भन्दै विज्ञानले भने अनुसार नै हाम्रो प्रयासलाई सुधारेनौं भने महामारी लम्बिने र थप खराब बन्ने चेतावनी दिए । उनले २०२० को हिउँद आधुनिक समयकै सबैभन्दा अँध्यारो बन्ने पक्षेपण पनि गरे ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म करिब ८७ हजार मानिसको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्